शनि, कार्तिक ८, २०८३
22.1 C
Kathmandu

दिनरात लाइन बस्दा पनि काठमाडौंमा पाइँदैन खाना पकाउने ग्यास, उपभोक्ताको आक्रोश

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव कायमै रहेको छ । महिनौँदिनदेखि ग्यास अभाव भएपछि उपभोक्ता आक्रोशित बनेका छन् ।

ग्यास अभावकै बीच बाढी–पहिरोका कारण मुख्य आपूर्ति मार्ग अवरुद्ध भएपछि झन समस्या बढेको छ । वैकल्पिक बाटोबाट ग्यास ल्याइए पनि बजारमा पर्याप्त आपूर्ति हुन नसक्दा उपभोक्ताले घण्टौँ लाइन बसेर पनि ग्यास पाएका छैनन् ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो गएर सडक अवरुद्ध भएपछि काठमाडौं, धादिङ र काभ्रेका ग्यास उद्योगमा नियमित आपूर्ति प्रभावित भएको हो । नेपाल आयल निगमले तराईका उद्योगमा सिलिन्डर रिफिल गराएर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था गरेको छ ।

निगमले पर्याप्त ग्यास बजारमा पठाइएको दाबी गरे पनि उपभोक्ताले भने ग्यास नपाएको गुनासो गरिरहेका छन् । दिनरात लाइन बस्दा पनि ग्यास नपाएको गुनासो उपभोक्ताको छ ।
लामो समयको ग्यास अभावले आपूर्ति र वितरण प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ । उपभोक्ताले सरकारी क्षमतामाथि नै प्रश्न गरेका छन् ।

अनामनगरमा ग्यासको लाइनमा बसेकी सावित्रा अधिकारीले चुल्हो बल्न छाडेको महिनौँ हुँदासमेत सरकारले ग्यास दिन नसकेको बताइन् । ‘ग्यास माग्न आएको होइन, किन्न आएको हो । तर, पनि ग्यास पाइँदैन । कस्तो दिन आयो ! ग्यासको यस्तो समस्या त अहिलेसम्म भोगिएको थिएन ।’ उनले भनिन् ।

अभाव बढेपछि निगमले घरायसी उपभोक्तालाई प्राथमिकता दिँदै होटल, रेस्टुरेन्ट तथा क्यान्टिनलगायत व्यावसायिक प्रयोजनमा ग्यास वितरण रोक्ने निर्णयसमेत गरेको छ । तर पनि सर्वसाधारणले सहज रुपमा ग्यास पाएका छैनन् ।

सम्बन्धित समाचार

ताजा न्यूज