बुध, कार्तिक ५, २०८३
16.1 C
Kathmandu

भारतीय र चिनियाँ राजदूतसँग प्रधानमन्त्री बालेन्द्र शाहको एक्लाएक्लै भेट

काठमाडौं । कुनै पनि देशका राजदूतसँग एकल भेट नगर्ने पूर्ववत् अडानबाट पछि हट्दै प्रधानमन्त्री बालेन्द्र शाहले एकै दिन दुई छिमेकी देशका राजदूतसँग छुट्टाछुट्टै भेट गरेका छन् । विगतमा छिमेकी तथा नेपालका लागि महत्वपूर्ण मुलुकका राजदूतहरूले प्रधानमन्त्रीलाई बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कूटनीतिक प्रचलन तोडेको बताएका प्रधानमन्त्री शाह अन्ततः उही प्रचलनमा आएका हुन् ।

पदभार सम्हालेको साढे चार महिनापछि प्रधानमन्त्री शाहले आफैँले सेट गरेको भनिएको प्रचलन तोडेर भारतीय राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत झाङ माओमिङलाई बेग्लाबेग्लै शिष्टाचार वार्तामा बोलाएका हुन् । प्रधानमन्त्री शाहको कदम सकारात्मक रहेको भन्दै पूर्वराजदूतले परिवर्तित ‘प्रोटोकल’बारे उनले स्पष्ट गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

गत २५ चैतमा प्रधानमन्त्रीले नेपालमा रहेका छिमेकी मुलुकसहितका राजदूतसँग सामूहिक वार्ता गरेका वेला उनका राजनीतिक सल्लाहकार असिम शाहले ‘सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने’ बताएका थिए । तर, चार महिनापछि पूर्ववत् अडानबाट पछि हटेर प्रधानमन्त्री शाहले सोमबार बेग्लाबेग्लै भेटवार्ता गरे ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरुमा भारतीय र त्यसपछि चिनियाँ राजदूत शिष्टाचार भेटका लागि पुगेका थिए । छिमेकी राजदूतहरूसँग उनले गरेको दोस्रो र तेस्रो द्विपक्षीय भेट हो । यसअघि उनले २३ असारमा एसियाली विकास बैंकका अध्यक्ष मासाको कान्दासँग पहिलो द्विपक्षीय भेट गरेका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज