सोम, कार्तिक ३, २०८३
25.1 C
Kathmandu

वरिष्ठ साहित्यकार, भाषाविद् प्राडा राजेन्द्र बिमलको उपचारका क्रममा निधन

काठमाडौं । वरिष्ठ साहित्यकार, भाषाविद् तथा प्राध्यापक डा. राजेन्द्र प्रसाद बिमलको निधन भएको छ। उनको जनकपुरधाम प्रादेशिक अस्पतालमा उपचारका क्रममा सोमबार राति करिब १ बजे निधन भएको हो।

वि. सं. २००४ साउनमा धनुषाको देवडिहा नजिकै खिरखिरिया गाउँमा जन्मिएका डा. बिमल नेपाली, मैथिली र हिन्दीमा स्नातकोत्तर थिए भने भाषाविज्ञान विषयमा पीएचडी उपाधि हासिल गरेका थिए। उनी रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब), जनकपुरधामको नेपाली विभागबाट प्राध्यापन सेवाबाट अवकाश प्राप्त भएका थिए।

मैथिली विकास कोष, जनकपुरधामका संस्थापक अध्यक्षसमेत रहेका डा. बिमलको पहिलो कथा १५ मार्च १९६३ मा ‘मिथिला मिहिर’ पत्रिकामा प्रकाशित भएको थियो। त्यसयता उनी निरन्तर कथा, कविता, नाटक, गजल, उपन्यास, समालोचना तथा बालसाहित्यलगायत विभिन्न विधामा सक्रिय रहे ।

उनका प्रमुख कृतिहरूमा ‘ई हमरे कथा थिक’, ‘इतिहासक घाओ’, ‘बौआक पोथि’, ‘सुरुज उगवासँ पहिने’ (गजल संग्रह), ‘डा. बिमलका कथाहरु’, ‘सरबरिआ गाउँको कथा’ र ‘फिस्टी रानी’ लगायतका रहेका छन् । उनका रचनाहरू गोरखापत्र, मधुपर्क, गरिमा लगायतका पत्रपत्रिकामा समेत प्रकाशित छन्।

डा. बिमलले नेपाल टेलिभिजनबाट प्रसारित ‘हंसा चलल परदेश’ टेलिफिल्ममार्फत पनि साहित्यिक योगदान दएिका थिए। उनी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट सम्मानित हुनुका साथै पहिलो पटक नेपाल विद्यापति भाषा साहित्य पुरस्कार प्राप्त गर्ने व्यक्तित्वसमेत हुन्। गरिमा, जगदम्बा सम्मान, राष्ट्रिय प्रतिभा, सिद्धि श्री लगायतका प्रतिष्ठित सम्मानबाट उनी पुरस्कृत भएका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज