बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

ग्यास, बिजुलीमा भ्याट, मल र महँगीमा सरकार चुकेको कांग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जनताका समस्या र मागमा केन्द्रित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकमा ग्यासको समस्या, बिजुलीमा भ्याट, मल अभाव र महँगीको विषयमा बैठक केन्द्रित भएको हो ।

कांग्रेसले सरकारको बहुलट्ठी निर्णयकै कारण ग्यासको चरम अभाव भएको निष्कर्ष निकाल्दै दूरदर्शी निर्ण{य गर्न ध्यानाकर्षण गराएको छ । जनताको भान्सा प्रभावित हुँदासमेत सरकारको उपस्थिति नदेखिएको कांग्रेसको दाबी छ । ‘ग्यासको आपूर्तिमा जनताले जुन कठिनाइ भोगिरहेका छन्, लामो लाइन मात्रै होइन, दैनिक जीवन प्रभावित भइरहेको छ । यसमा उद्योगको कारण मात्र होइन, सरकारको बहुलट्ठीपूर्ण निर्णयले जनताले दुःख पाइरहेका छन् । भान्सालाई सहज बनाउन सरकारको उपस्थिति नै देखिएन,’ अधिकांश केन्द्रीय सदस्यहरूको भनाइ छ ।

बिजुलीमा लगाइएको भ्याट फिर्ता लिएर जनतालाई राहत दिन पनि कांग्रेस नेताहरूले सरकारसँग माग गरेका छन् । ‘अघिल्लो सरकारले बिजुलीलाई बढीभन्दा बढी खपत गराउने नीति लिएर राहत प्याकेज ल्याएको थियो । इन्डक्सन चुलोमा राहत दिने, दैनिक उपभोग्य बिजुलीमा सहुलियत दिने, त्यसले खपत बढ्दै जाने र विशेष गरी ग्याससहित अन्य पेट्रोलियम पदार्थको खपत घट्दै जान्छ । तर, अहिलेको सरकारले सहुलियत दिनुको साटो उल्टो बिजुलीमा भ्याट लगाउने काम गर्‍यो । इन्डक्सनको विषयमा पनि उपयुक्त निर्णय नलिएका कारणले पनि अहिले समस्या आएको छ,’ सदस्यहरूको आरोप छ ।

खेतीपातीको समयमा मलको अभाव भएको भन्दै नेताहरूले आक्रोश पोखेका छन् । ‘मल अभावले किसानहरू आक्रान्त भएका छन् । यसले भोलि खाद्य संकट आउन सक्छ । सरकारले मल उपलब्ध नगराउने मात्र होइन, भएको मलमा पनि कालोबजारी छ । सरकारको उपस्थिति देखिँदैन । सीमावर्ती क्षेत्रमा किसान लुटिएका छन् । किसानको समस्या सरकार न देख्छ, न सुन्छ,’ केन्द्रीय सदस्यहरूले भनेका थिए ।

किसानको उत्पादनको संरक्षणका साथै बजारको व्यवस्थापनको ग्यारेन्टी पनि सरकारले गर्नुपर्नेमा केन्द्रीय सदस्यहरूले जोड दिएका छन् । मलका साथै सिँचाइको बारेमा पनि सरकारले दीर्घकालीन सोच राखेर काम गर्नुपर्नेमा उनीहरूको जोड छ ।

केन्द्रीय सदस्यहरूले उठाएको अर्को विषय हो– महँगी । ‘महँगीले गर्दा जनताको जीवन प्रणाली अस्तव्यस्त बनेको छ । जनताको आयस्तर कमजोर छ, दिनभर काम गरेर बेलुका खान सक्ने स्थिति छैन । बजार अकासिएको छ । सरकारी अनुगमन छैन, नियन्त्रण छैन,’ उनीहरूले भनेका छन् । बजार अनुगमनका साथै राहतको विषयमा सोच्न उनीहरूको सरकारको ध्यानाकर्षण गराएका छन् ।

जनताले दैनिक भोगिरहेका सदस्यलाई केन्द्रविन्दुमा राखेर बैठकमा छलफल भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘जनताको माग र समस्यालाई केन्द्रमा राखेर हामीले आवाज उठाएका छौँ र सरकारको ध्यानाकर्षण गराएका छौँ,’ उनले भने, ‘जनताको जीवनसँग जोडिएका विषय उठाउनु हाम्रो दायित्व र जिम्मेवारी पनि हो । हामी त्यसैमा फोकस भयौँ ।’

सम्बन्धित समाचार

ताजा न्यूज