बिहि, कार्तिक १३, २०८३
17.1 C
Kathmandu

अन्तिमसम्म प्रदेश सरकार नछाड्ने कांग्रेस रणनीति, अन्य दलसँग संवाद अघि बढाउने

काठमाडौं । दुई ठुला कम्युनिस्ट घटक एमाले र नेकपाले प्रदेश समीकरण बनाउने सहमति गरेलगत्तै कांग्रेसले पनि ती दलबाहिरको गठबन्धन बनाउन संवाद गर्ने निर्णय लिएको छ । यसअनुसार कांग्रेसले एमाले र नेकपाबाहिरका दलहरूसँग मिले सरकार बचाउने वा बनाउन प्रयास गर्ने भएको छ । पहिला छलफल गर्ने र अनुकूल अवस्था नभए मात्रै मुख्यमन्त्री र मन्त्रीहरूले राजीनामा दिने रणनीति कांग्रेसले बनाएको छ ।

एमाले र नेकपासँग सातमध्ये तीन प्रदेशमा मात्रै सहज बहुमत छ । कोशी, कर्णाली र सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा तेस्रो दलको समर्थनविना सरकार बनाउन सक्ने अवस्था एमाले र नेकपाको छैन । त्यही तथ्यांक हेरेर एमाले र नेकपाबाहेक समीकरणको प्रयास गर्ने निष्कर्ष निकालिएको कांग्रेस नेताहरूले बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी, प्रदेश सभापति, संसदीय दलका नेता र मुख्यमन्त्रीसहितको बैठकले एमाले र नेकपाबाहेकको सत्तासमीकरणको प्रयास गर्ने निष्कर्ष निकालेको हो । साथै, बैठकले प्रदेशमा बलियो प्रतिपक्षको आवश्यकता औँल्याउँदै कांग्रेस, एमाले वा नेकपामध्ये एउटा दल प्रतिपक्षमा बस्नु नै लोकतान्त्रिक हुने पनि निष्कर्ष निकालेको छ ।

हाल चार प्रदेशमा कांग्रेसका मुख्यमन्त्री छन् । मधेशमा कृष्णप्रसाद यादव, बागमतीमा इन्द्रबहादुर बानियाँ, गण्डकीमा सुरेन्द्रराज पाण्डे र सुदूरपश्चिममा कमलबहादुर शाह मुख्यमन्त्री छन् । कांग्रेसका मुख्यमन्त्री रहेका सुदूरपश्चिमबाहेक तीन प्रदेशमा एमाले–नेकपासँग बहुमत छैन ।

एमाले र नेकपाले मधेश र गण्डकीबाहेक अन्य प्रदेशमा सरकारको नेतृत्वमा सहमति गरेका छन् । यी दुई प्रदेशमा भने सरकारको नेतृत्व वा सहभागिताको विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने समझदारी एमाले र नेकपाको छ ।

प्रदेशको अंकगणित हेरेर सत्तासहकार्यका लागि अन्य दलहरूसँग संवाद गर्ने निर्णय भएको महामन्त्री गुरुराज घिमिरेले बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज