काठमाडौं । इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै अन्तिम समयमा दुई गोल गरेर लगातार दोस्रोपटक फाइनलमा सुरक्षित भएको हो ।
मार्टिनेजले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गरेपछि अर्जेन्टिना २–१ ले विजयी भयो । अर्जेन्टिनाका फर्नान्डेज र मार्टिनेजले गोल गरेका हुन् । इंग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।
तीन पटकको विश्वविजेता अर्जेन्टिना सातौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ । ३६ वर्षको उपाधि खडेरी तोड्दै सन् २०२२ मा विश्वकप जितेको अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि जित्ने बाटोमा अगाडि बढेको छ ।
अर्जेन्टिनाले उपाधिका लागि अब स्पेनसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा पुगिसकेको छ ।
यस्तै, अर्जेन्टिनाका कप्तान मेसी गोल्डेन बुट होडमा शीर्ष स्थानमा उक्लिएका छन् । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध मेसीले दुवै गोलमा असिस्ट गरेका थिए । मेसी र एमबाप्पेले ७ खेल खेल्दै समान ८ गोल गरेका छन् ।
