काठमाडौं । आम जनता पार्टी (आजपा)ले देशको वर्तमान आर्थिक अवस्था अत्यन्तै निराशाजनक रहेको र वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको निष्कर्ष निकालेको छ। सरकारको अपरिपक्व कार्यशैलीका कारण मुलुक गम्भीर आर्थिक संकट र ऋणको दुष्चक्रमा फस्दै गएको आजपाको दाबी छ ।
आर्थिक वर्ष ०८२/८३ मा लक्ष्यको तुलनामा निकै कम राजस्व असुली भएको र राजस्व वृद्धिदर विगतका वर्षहरूको तुलनामा न्यूनतम विन्दुमा खुम्चिएको भन्दै आजपाले चिन्ता जनाएको छ। विकास निर्माणका लागि विनियोजन गरिएको कुल पुँजीगत बजेटको करिब आधा मात्र खर्च हुनुले राज्य संयन्त्रको कमजोरी र न्यून कार्यक्षमता उदांगो पारेको आजपाको ठहर छ।
आजपा प्रवक्ता सुभाष साहले प्रेस वक्तव्य जारी गरी देशको सार्वजनिक ऋण तीव्र रूपमा बढेर कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ४५ प्रतिशत पुगिसकेको उल्लेख गरेका छन्। संकलित राजस्व र वैदेशिक सहायताले चालू खर्चसमेत धान्न नसकेर ऋणको सावाँ–ब्याज तिर्नकै लागि थप ऋण लिनुपर्ने अवस्था सिर्जना भएकोतर्फ सचेत गराइएको छ।
न्यून मूल्यांकनमार्फत पुँजी पलायन भइरहेको र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी फितलो नियमनका कारण वित्तीय कारबाही कार्यदलले नेपाललाई सन् २०२६ को जुनसम्म ‘ग्रे लिस्ट’मा राख्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ। यसले नेपाली बैंकिङ क्षेत्रको अन्तर्राष्ट्रिय कारोबार महँगो र जटिल बन्ने खतरा बढाएको छ।
सरकारले सुरुमा सुशासन, डिजिटल पारदर्शिता र योग्यता प्रणालीका ठुला कुरा गरे पनि व्यवहारमा आफ्ना नजिकका मानिसहरूलाई मात्र नियुक्ति दिएर नाराको धज्जी उडाएको आरोप लगाइएको छ। मन्त्रालयको संख्या घटाएको प्रचार गरेर सल्लाहकार र स्वकीय सचिवालयको भिड बढाउँदै फजुल खर्च कायमै राखिएको र सरकारले गरेका अधिकांश राजनीतिक निर्णयहरू अदालती आदेशबाट स्थगित वा बदर हुनुले शासकीय अपरिपक्वता झल्काउने विज्ञप्तिमा जनाइएको छ।
‘जेन–जी’ आन्दोलनको रापतापमा बनेको र दुईतिहाइ बहुमत पाएको वर्तमान सरकार छोटो अवधिमै अलोकप्रिय बनेको आजपाले दाबी छ। आजपाले दलहरूबिच न्यूनतम राजनीतिक सहमति कायम गरी बेरोजगारी, गरिबी र जनजीविकाका कार्यक्रमहरूमा बेलैमा ध्यान दिन सरकारसँग आग्रहसमेत गरेको छ।
