काठमार्डौं । रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्रका अप्ठेरा सुल्झाउन आग्रह गरेका छन् ।
पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘सबै दल ठिक हुनुपर्छ । दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र अप्ठेरा देखिएका छन् । त्यो अप्ठेरा त्यो दलको मात्रै होइन, त्यो दलका अप्ठेरा सुल्झिएनन् भने देशको अप्ठेरा पनि बन्न सक्छ । मेरो शुभकामना छ, आफ्नो दलभित्रका अप्ठेरा मिलाउनुहोला ।’
आफ्नो दल मात्रै होइन अन्य दलहरूको अप्ठेरा पनि सुल्झिए भने देश एउटा राम्रो बाटोमा जाने उनको भनाइ छ ।
लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई रास्वपाले जोगाउने बताए । ‘संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक–अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज र समावेशितालगायतका थुप्रै उपहार अघिल्लो पुस्ता र नेतृत्वबाट पाएका छौँ,’ लामिछानेले व्यवस्थाप्रति आफ्ना प्रतिबद्धता दोहो¥याउँदै भने, ‘हामी त्यसबाट बाहिर जानेछैनौँ । यसअगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुनेछैन । त्यो कदम हामी कदापि चाल्नेछैनौँ । रास्वपाले त्यो लाइन क्रस गर्दैन ।’
सभापति लामिछानेले बाहिर बसेर खबरदारी गर्दा नसुनिएपछि बाध्यताले राजनीतिमा आएको र पुराना दलले अति गरेपछि जनताले रास्वपालाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको दाबी गरे । साथै उनले रास्वपाको नेतृत्वमा देश सुरक्षित रहेको दाबी गरे । ‘शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्ने होइन । रास्वपा प्रतिशोध र दम्भबाट निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा जनमत बोकेर उपस्थित भएको छ । देश रास्वपाको हातमा छ र देश सुरक्षित छ,’ उनले भने ।
