एजेन्सी । १८ वर्षीय युवा खेलाडी लामिन यमलले आफ्नो पहिलो विश्वकप सुरुआतमै जादुमयी प्रदर्शन गरेपछि स्पेनले साउदी अरबलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ ।
यो जितसँगै स्पेनले जारी विश्वकपमा आफ्नो पहिलो सफलता दर्ता गरेको छ । पहिलो खेलमा केप भर्डसँग बराबरीमा रोकिएको स्पेनका लागि प्रशिक्षक लुइस डे ला फुएन्टेले यसपटक बार्सिलोनाका किशोर स्टार यमललाई सुरुवाती ११ मा राखेका थिए ।
उनले प्रशिक्षकको निर्णयलाई सही साबित गर्दै १० मिनेटमा गोल गरे । मिकेल ओयार्जाबलले दुई गोल थपेपछि स्पेन पहिलो हाफमै ३–० ले अघि बढेको थियो ।
दोस्रो हाफको सुरुमै साउदीका डिफेन्डर हस्सान अल ताम्बक्तीको आत्मघाती गोलले स्पेनको अग्रता ४–० मा पु¥यो ।
यमल र ओयार्जाबललाई दोस्रो हाफमा आराम दिइएको थियो ।
अर्को खेलमा फिफा विश्वकप २०२६ मा दुई पटकको विश्वविजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा केप भर्डेसँग उरुग्वे २–२ गोलको बराबरीमा रोकिएको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो ।
दुवै टोलीले आफुले लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुगे । केप भर्डेले उरुग्वेविरुद्ध सुरुवाती अग्रता लिएको थियो ।
विश्वकप फुटबलको समूह ‘जी’ अन्तर्गत भएको रोमाञ्चक खेलमा इरानी गोलकिपर अलिरेजा बायरनभान्ड नायक बनेका छन् । बेल्जियमजस्तो बलियो टोलीले इरानको पोस्टमा २३ पटक प्रहार गरे पनि ३३ वर्षीय बायरनभान्डले सबै प्रयासलाई विफल पार्दै खेललाई गोलरहित बराबरी पु¥याए ।
इरानले आफ्नो विश्वकप इतिहासमा पहिलो पटक सुरुवाती दुई खेलमा अपराजित रहने रेकर्ड बनाएको छ ।
