काठमाडौं । वरिष्ठताको परम्परा तोडेर संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनले बैठक बोलाएको छ ।
प्रधानन्यायाधीशमा भएको सिफारिसबारे साझा धारणा बनाउन बैठक बोलाइएको बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाले जानकारी दिए । उनअनुसार बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई रायका लागि बोलाइएको छ ।
उनीहरूको रायपछि बारले धारणा सार्वजनिक गर्ने तयारी छ । संवैधानिक परिषद् बैठकले बहुमत निर्णयका आधारमा चौथो वरीयतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै परिषद् सदस्य राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
