काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले १५ औँ महाधिवेशनको मिति समायोजन नभए पार्टी विभाजनतर्फ जाने चेतावनी दिएपछि सभापति गगन थापाले निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेका छन् । थापाले खड्कासँग मिलेर जान आग्रह गरेका छन् । मिलेर जानका लागि आफू लचिलो बन्ने थापाले बताएका छन् । खड्काले सहमतिको प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।
यसअघि, सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएसँगै देउवा पक्षको निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बसेको थियो। उक्त बैठकले पार्टी विभाजनसम्मको विषयमा छलफल गरेको थियो ।
एकताको सम्पूर्ण जिम्मेवारी सभापति थापाको रहेको निष्कर्ष निकालेको छ । आफूहरुको समेत एकतामा भूमिका हुने भन्दै त्यसका लागि निवर्तमान केन्द्रीय सदस्य, निवर्तमान पदाधिकारी र अन्य समितिमा रहेकाहरूसँग छलफल गर्ने निर्णय भएको नेता मीन विश्वकर्माले बताए ।
एकताका लागि महाधिवेशनको मिति समायोजन हुनैपर्ने अडान देउवा पक्षले लिएको छ । ”वैशाख अन्तिममा महाधिवेशन मिति घोषणा भएको थियो । विशेष महाधिवेशनबाट चयन भएको समितिले असोजमा मिति घोषणा गरेको छ । मिति समायोजन नभए दुई महाधिवेशनको जोखिम छ । यसले पार्टीलाई विभाजन गराउँछ,” नेता विश्वकर्माले भने ।
