सोम, कार्तिक ३, २०८३
19.1 C
Kathmandu

महाधिवेशनमा अघि बढ्यो रास्वपा, बैशाख १५ गतेदेखि जिल्ला अधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनतर्फ अघि बढेको छ । आगामी भदौ–असोजसम्म महाधिवेशन गर्ने गरी रास्वपाले तल्ला कमिटीहरूको अधिवेशन प्रारम्भ गर्ने तयारी गरेको छ । यद्यपि, महाधिवेशन तालिका सोमबार दिउँसो ३ बजे बस्ने केन्द्रीय समितिबाट टुंग्याउने तयारी छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले १५ वैशाखदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले बताए । अहिले रास्वपा प्रतिनिधिसभामा १८२ सिट प्राप्त गर्दै झन्डै दुईतिहाइको सरकार चलाइरहेको छ । निर्वाचनमा आएको मतलाई अधिकतम पार्टी सदस्यतामा रूपान्तरण गरेर बलियो राजनीतिक शक्ति बन्ने रास्वपा नेताहरूको रणनीति छ । रास्वपाले महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गरेको छ ।

यसअघि २५ देखि २७ वैशाख ०८२ मा तोकिएको महाधिवेशन तयारी नपुगेको भन्दै ७–९ फागुन ०८२ का लागि सारिएको थियो । त्यसपछि जेन–जी आन्दोलन र निर्वाचन प्रक्रियापछि रास्वपा चुनावमा केन्द्रित भएको थियो । यसैअनुसार रास्वपाले २१ फागुन ०८२ को चुनावको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त समयसीमाभित्रै महाधिवेशन गर्ने तयारीमा रास्वपा छ ।

सरकारसँग सेवाप्रवाहमा समन्वय गर्दै पार्टीका गतिविधि अगाडि बढाउने र आगामी भदौ–असोजमा महाधिवेशन गर्ने रास्वपा नेताहरूको गृहकार्य छ ।

सम्बन्धित समाचार

ताजा न्यूज