सोम, अशोज ५, २०८३
23.1 C
Kathmandu

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिबेदन लिक, के–के छन् सिफारिस ?

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे गरेको अध्ययन प्रतिवेदन लिक भएको छ । सरकारले गोप्य राखे पनि जनआस्थाले प्रतिवेदन लिक गरेको हो । उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि कारबाही सिफारिसमा परेका छन् । वर्तमान आईजीपी दानबहादुर कार्कीलाई पनि नसियत दिन आयोगले सिफारिस गरेको छ ।

प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध फौजदारी अभियोजन:

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई मुलुकी अपराधसंहिता, २०७४ को दफा १८१ (लापरबाही) र १८२ (हेलचक्र्याइँ) अनुसार अनुसन्धान र अभियोजनका लागि नेपाल सरकारलाई सिफारिस गरेको छ । चार घण्टाभन्दा बढी गोली चलिरहँदा रोक्न कुनै प्रयास नगर्नु नै प्रमुख आधार हो ।

सेनाका अधिकारीविरुद्ध कारबाहीको सिफारिस:
राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार सचिवालय र संसद् भवनको सुरक्षामा खटिएका चार नेपाली सेनाका कमाण्डर अधिकारीहरू- मनोज बैदवार, दिवाकर खड्का, गणेश खड्का र सन्तोष ढुंगेललाई सैनिक ऐनअनुसार कारबाही गर्न सिफारिस गरिएको छ ।

टीओबी समूहविरुद्ध फौजदारी अनुसन्धानको सिफारिस:
भाद्र २३ को प्रदर्शनमा मोटरसाइकलमा आई प्रदर्शनकारीलाई उक्साई हिंसा भड्काउने टीओबी समूहका व्यक्तिहरूविरुद्ध फौजदारीसंहिता अनुसार अनुसन्धान र कारबाही गर्न सिफारिस गरिएको छ ।

भाद्र २४ को हिंसाको विस्तृत अनुसन्धानको सिफारिस:

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा भेटिएको रकमसहित २४ गतेको व्यापक आगजनी, लुटपाट र तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचानका लागि सीसीटीभी फुटेज, बिहाइन्ड द सिन डेटा र अन्य डिजिटल सामग्रीको आधारमा गहन अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

आन्दोलन हिंसात्मक बनाउन डिस्कर्ड प्रयोग
जेन–जी आन्दोलन हिंसात्मक बन्नुमा सामाजिक सञ्जाल डिस्कर्डले महत्वपूर्ण भूमिका खेलेको निष्कर्ष आयोगको छ । आन्दोलनका तयारीदेखि भिड भड्काउने, आगजनी गर्ने, पेट्रोल बम बनाउन सिकाउनेसम्मका गतिविधि डिस्कर्डमा भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । डिस्कर्डमा पेट्रोल बम (मोलोटोभ ककटेल) प्रसंग ३५६ पटक उठाइएको छ । डिस्कर्डमा उक्त बम बनाउने तरिका २३ भदौको अपराह्नदेखि सिकाउन सुरु भएको प्रतिवेदनमा उल्लेख छ ।

‘बोतलमा पेट्रोल र कपडा प्रयोग गरी बनाइने बम, जसको चर्चा डिस्कर्डमा ३५६ पटक भएको थियो । डिस्कर्ड संवादमा सोडियम मेटल र नेपाल्म बनाउने सूत्रहरू आदान–प्रदान भएको पाइएको छ । संसद् भवन र अन्य संरचनाहरूमा निकै छोटो समयमा आगो फैलिनुले सोडियम वा म्याग्नेसियमजस्ता प्रज्ज्वलनशील रसायनको प्रयोग भएको हुन सक्ने संकेत गर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यही दिन अपराह्नदेखि डिस्कर्डमा मोलोटोभ ककटेल (पेट्रोल बम) प्रयोग गर्ने योजनाहरू बन्न थाले ।’

डिस्कर्डमार्फत निशाना बनाउनुपर्ने ठाउँको बारेमा समेत बताइएको थियो । जसअनुसार उनीहरूले शीर्ष नेताहरूको घरमा आगजनी र तोडफोड गर्न भनेको उल्लेख छ । संसद् भवनदेखि सर्वोच्च अदालत, मन्त्रीक्वार्टर, प्रहरी कार्यालय, भाटभटेनी, हिल्टन होटेललगायतमा पनि डिस्कर्डमार्फत दिइएको निर्देशनपछि नै क्षति पुर्‍याइएको उल्लेख छ । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा जिलेटिनसहित आक्रमणको प्रयास भएकोमा सेनाले विफल पारेको प्रतिवेदनमा उल्लेख छ ।आयोगको प्रतिवेदनअनुसार भिडलाई उत्तेजित बनाउन भ्रामक सूचनासमेत डिस्कर्डमा फैल्याइएका थिए । आन्दोलनका क्रममा होस्टेलमा बलात्कार भएको, मृतकको संख्या बढाइचढाइ गरिएकोजस्ता मिथ्या सूचना फैलाएर भिडलाई उत्तेजित पारिएको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

ताजा न्यूज