काठमाडौं । रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई बिहीबार संसदीय दलको नेता चयन गर्ने र शुक्रबार प्रधानमन्त्रीको शपथ लिई कार्यभार सम्हाल्ने गरी नयाँ सरकार गठनको अन्तिम तयारी थालेको छ । प्रतिनिधिसभामा १८२ सिट प्राप्त रास्वपाको संसदीय दल बैठकले नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई जानकारी गराएपछि राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । रास्वपाले शुक्रबार नै अन्य मन्त्रीहरूको पनि शपथ गराउने गरी गृहकार्य गरेको छ ।
अन्य सदस्यले जस्तै बालेनले बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा संसद्को शपथ लिँदै छन् । त्यसपछि अपराह्न ४ बजे केन्द्रीय समिति बैठकमार्फत रास्वपाले संसदीय दलको नेता चयनका लागि आवश्यक प्रक्रियागत अवरोध हटाउनेछ । विधानमा दल नेता चयनसम्बन्धी केही संशोधन गर्नुपर्नेछ । रास्वपा बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेर निर्वाचन लडेको थियो ।
केन्द्रीय समितिबाट विधान संशोधनको काम सकिएपछि संसदीय दलको बैठकबाट प्रधानमन्त्रीका दाबेदार वरिष्ठ नेता बालेनलाई संसदीय दलको नेता चयन गर्ने कार्यतालिका रास्वपाले बनाएको छ । त्यसपछि दलको नेता चयन भएको जानकारी राष्ट्रपति कार्यालय पठाउने तयारी छ । त्यसअनुसार राष्ट्रपतिले संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् ।
नयाँ सरकारका प्रधानमन्त्रीको शपथ शुक्रबार १२ बजेर ३४ मिनेटमा हुने भएको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार १३ चैत दिउँसो १२:३४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहलाई शपथग्रहण गराउनेछन् । शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । १०८ जना बटुकबाट स्वस्तिशान्ति वाचन गरिनेछ । १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने महामन्त्री बुर्लाकोटीले बताए । उनका अनुसार प्रधानमन्त्रीसँगै शीतलनिवासमा मन्त्रीहरूले पनि शपथ लिनेछन् । पहिलोपटकमै मन्त्रिमण्डललाई पूर्णता दिने तयारी छ । मन्त्रालय संख्या अधिकतम १५ बनाउने गृहकार्य छ । शपथपछि बालेनले २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद बहाली गर्ने कार्यतालिका छ ।
