मङ्ल, अशोज ६, २०८३
21.1 C
Kathmandu

कार्यभार सम्हाल्दै अर्जुननरसिंह केसीले भने–सभामुख निष्पक्ष र पारदर्शी हुनुपर्छ

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद् र सरकारले जनताबाट प्राप्त जनादेशलाई प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निष्पक्षता, पारदर्शिता र जिम्मेवारीपूर्ण कार्यसम्पादनमा आफू प्रतिबद्ध रहेको बताए।

केसीले सभामुख पदलाई ‘हाउसको डिग्निटी’को प्रतीकका रूपमा उल्लेख गर्दै कुनै पनि दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने धारणा व्यक्त गरे। ‘सभामुख पार्टीको होइन, संसद्को हुन्छ। त्यसैले निष्पक्ष र पारदर्शी रूपमा काम गर्नु आवश्यक छ,’ उनले भने।

उनका अनुसार संसद्को मुख्य उद्देश्य जनताका अपेक्षा र आकांक्षालाई सम्बोधन गर्नु हो। उनले पक्ष–प्रतिपक्ष सबैलाई समेटेर मुलुकको समग्र हितका लागि काम गर्नुपर्नेमा जोड दिए। ‘हामी सबैको साझा शत्रु गरिबी, रोग, भोक र कुशासन हुन्। यिनको अन्त्यका लागि संसद्ले प्रभावकारी भूमिका खेल्नुपर्छ,’ उनले बताए।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको जिम्मेवारी सम्हालेका हुन्। उनले संविधान, संसद्को नियमावली र स्थापित संसदीय अभ्यासका आधारमा निर्णय लिने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक सांसदको विशेषाधिकारको रक्षा गर्ने बताए।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ सरकार गठन र संसद् अधिवेशन आह्वानको तयारी भइरहेका वेला केसीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

सम्बन्धित समाचार

ताजा न्यूज