काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ। ६ देखि ८ चैत्रसम्म उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो।
सभापति थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। बैठकमा उपसभापति शर्माले थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पेस गरेका थिए। केन्द्रीय कार्यसमितिको बैठकले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गर्दै सभापतिको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राजीनामा अस्वीकृत गर्ने आधारहरू यस्ता छन्–
१ निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको
२ वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको
३ राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले
४ राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले
५ सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले
६ विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले
७ पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले
८ केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले
