काठमाडौं । आधा परिमाण ७.१ किलोग्राम ग्यास भरिएको सिलिन्डर प्रयोगमा ल्याउने निर्णय भएको एक साता बित्दा पनि बजारमा आपूर्ति सहज हुन सकेको छैन । आधा ग्यास मात्रै बजारमा आपूर्ति गर्दा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी सिलिन्डर बजार पुग्ने भएकाले आपूर्ति सहज हुने आयल निगमको बुझाइ थियो । तर, सातादेखि ग्यास आपूर्ति असहजताको स्थिति ज्युँका त्युँ छ ।
आयल निगमको एलपिजी तथा एभिएसन विभाग प्रमुख विनितमणि उपाध्यायले आयातमा कुनै समस्या नभए पनि आपूर्ति सहजता गर्न कठिनाइ झेल्नुपरेको स्वीकार गरे ।
‘मध्यपूर्वको विषम परिस्थितिका कारण भारतले नै घरेलु उपभोक्तालाई पर्याप्त ग्यास पुर्याउन कठिनाइ भोगिरहेको छ, तर नेपालमा पठाउने परिमाणमा कुनै कटौती भएको छैन,’ उनले भने, ‘हामीले सामान्य अवस्थाकै परिमाण आयात गरिरहँदा पनि माग धान्न नसक्नु अचम्म भएको छ ।’
एक सातादेखि आधा ग्यास भरिएको सिलिन्डर मात्रै बजारमा पठाउने निर्णय लागू भएकाले दोब्बर परिमाण वितरण भइरहेको उनले बताए ।
आयल निगमका प्रवक्ता मनोज ठाकुरले घरमा रहेका सबै खाली सिलिन्डर भरेर राख्ने प्रवृत्तिले गर्दा असहज भइरहेको बताए ।
