एजेन्सी । आइसिसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर–एटको निर्णायक खेलमा वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा पुगेको छ ।
कोलकतामा भएको खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराएपछि भारत समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो । यसअघि यो समूहबाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ ।
अब सेमिफाइनलमा अर्को समूहबाट आएको इंग्ल्यान्ड र भारतबीच मुम्बई तथा दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच कोलकतामा खेल हुनेछ ।
आइतबारराति वेस्ट इन्डिजले दिएको १९६ रनको लक्ष्यलाई पछ्याउँदै भारतले ५ विकेटको क्षतिमा १९९ रन बनायो । भारतको जितको मुख्य नायक सन्जु सामसन बने । उनले अविजित ९७ रनको सानदार योगदान गरे ।
पराजित भएसँगै वेस्ट इन्डिज भने जारी प्रतियोगिताबाट बाहिरिएको छ ।
