काठमाडौं । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व मनाइँदैछ ।
आजको दिन परम्परागत रूपमा विभिन्न रङ खेली फागु पर्व मनाउने परम्परा छ । केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने यो वर्ष पछिल्लो समय सभ्य बन्दै गएको छ ।
सडकमा कामविशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।
यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चिरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् ।
उक्त चिरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुँछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चिरको खरानीको टीका लगाइन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको छ ।
फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने मंगलबार होली मनाइँदै छ । तराईका जिल्लामा मंगलबार नै सरकारले सार्वजनिक बिदा दिएको छ ।
सरकारले निर्वाचन नजिकिएका कारण यसपालिको होली घरमै मनाउन आग्रह गरेको छ ।
