बिहि, कार्तिक १३, २०८३
22.1 C
Kathmandu

चोट लागेको सात हप्तासम्म पनि कप्तान साम्बाको भएन शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारको सहयोगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पछि हटेको आरोप लगाएकी छन्।

अस्ट्रेलियाको ‘निन्जा ए-लिग’ क्रममा स्ट्राइकर साम्बालाई गत पुस तेस्रो साता गम्भीर चोट लागेको थियो। लिगमा सहभागी एक मात्र न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्समा आबद्ध साम्बाको दाहिने घुँडाको ‘एसिएल’ पूर्ण रूपमा च्यातिँदा सिजनका सबै खेल गुमाएकी थिइन्।

चोटको उपचारमा लाग्नु पर्ने साम्बाले आफू अझै पनि उपचारका लागि भौंतारिएको र एन्फाबाट उचित सहयोग नपाएको बताइएकी हुन्।

ब्रिस्बेन रोअर विरूद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किँदा साम्बा घाइते भएकी थिइन्। यो चोट निको भएर पुन: मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ।

दुई महिनासम्म पनि उपचार नभएपछि साम्बाले सामाजिक सञ्जालमा लामो पोस्ट हाल्दै सहयोगका लागि समर्थकसँग अपिल समेत गरेकी छन्।

‘पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु। सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरू गरेको केही समय बितिसक्ने थियो। तर अझै पनि म उपचारको लागि भौंतारिएको छु,’ साम्बाको भनाइ छ, ‘मेरो घुँडाको एसिएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ। यसका लागि मैले पुन: जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ। पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो। त्यसबेला आर्थिक र मानसिक रूपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकें।’

यसअघि पनि उनी चोटका कारण एक वर्षपछि मैदान फर्किएकी थिइन्। २०७८ सालमा मैदान फर्कनुअघि साम्बा एन्फाको पहलमा कतार पुगेकी थिइन्। जहाँ उनले शल्यक्रिया गराएकी थिइन्। तर यसपटक एन्फाबाट सहयोग नपाएको उनको गुनासो छ।

सम्बन्धित समाचार

ताजा न्यूज