काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनविरोधी शक्ति र आवाजहरूको स्वामित्व लिँदै त्यसअघि राष्ट्रिय सहमति र समझदारीमा जोड दिएका छन् । प्रजातन्त्र दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले अहिलेको निर्वाचनले निकास नभई द्वन्द्व, अशान्ति र खिचातानी ल्याउन सक्ने दाबी गरेका छन् ।
‘प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए तापनि यतिखेरको आमजनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ,’ उनले भनेका छन्, ‘निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो ।’
पूर्वराजा शाहले प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यताअनुरूप चल्नु उपयुक्त हुने धारणा व्यक्त गरेका छन् । देश अहिले संकटमा परेको दाबी गर्दै उनले विगतका आन्दोलन र परिवर्तनको समीक्षा गर्नुपर्ने पनि उनले माग गरेका छन् ।
‘सिंगै मुलुक यतिवेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको छ । देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्,’ उनले भनेका छन्, ‘विगतमा अनेकौँ नाममा आन्दोलन र संघर्ष भए । संघर्षको आडमा परिवर्तन पनि गरिए । सबै प्रकारका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने वेला आएको छ ।’
नेपालको शत्रु अस्थिरता र विपन्नता भए पनि अहिले एक नेपालीले अर्कालाई बैरी ठान्ने अवाञ्छित संस्कृतिलाई बढावा दिइएको उनले आरोप लगाएका छन् । उनले जनताको समग्र हित हुने तथा विश्वसामु नेपालीको उच्च शिर हुने व्यवस्था नै प्रजातान्त्रिक व्यवस्था नेपाललाई सुहाउने बताएका छन् । ‘कुनै व्यवस्थाको राम्रा र असल पक्ष टिप्नु र राख्नुपर्छ । जुनै व्यवस्थाको नराम्रो र खराब पक्ष हुन्छन्, त्यसलाई फाल्नुपर्छ,’ उनले भनेका छन् । उनले नेपालको धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग, परीक्षण र प्रशोधन गर्दै जानुपर्नेमा जोड दिएका छन् । साथै पूर्वराजा शाहले झापाबाट केही दिनअघि काठमाडौं फर्किँदा स्वागतमा उभिएका समर्थकलाई पनि धन्यवाद दिएका छन् ।
