काठमाडौं । ७६औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ विविध कार्यक्रम गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा बिहीबार बिहान विशेष कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।
नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ साल फागुन ७ गतेलाई लिने गरिएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए ।
प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
जहानियाँ राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणाशासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । तर, जनताको अवस्था भने अपेक्षित रुपमा परिवर्तन हुन सकेको छैन ।
