बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी तालिमपछि चुनावी मैदानमा

काठमाडौं । निर्वाचन सुरक्षार्थ छनोट भएर दशदिने तालिम पूरा गरेका एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी बुधबारदेखि फिल्डमा खटिँदै छन् । उनीहरू नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा फौजसँगै चुनावी मैदानमा खटिनेछन् ।

नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० र सशस्त्रले १५ हजार ११० निर्वाचन प्रहरीलाई १८ माघमा नियुक्तिपत्र दिएको थियो । उनीहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र गुल्महरूमा तालिम लिएका थिए । नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले तालिम पूरा भएका निर्वाचन प्रहरीलाई निर्वाचन सुरक्षार्थ खटाउन लागिएको बताए ।

‘मुलुकभर छनोट भएका सबै निर्वाचन प्रहरीको तालिम पूरा भएको छ । १० दिनको तालिम लिएका छन् । उनीहरूले गत १८ माघमा नियुक्तिपत्र लिएका थिए । अब निर्वाचन सुरक्षार्थ फिल्डमा खटाइँदै छ,’ उनले भने ।

चार हजार ६१४ सय मतदानस्थल अतिसंवेदनशील
निर्वाचन आयोगले देशभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरेको छ । यसभित्र २३ हजार ११२ निर्वाचन केन्द्र छन् । संवेदनशीलताका हिसाबले कतिपय एक निर्वाचन केन्द्रलाई एक निर्वाचन स्थलबराबरकै सुरक्षाकर्मी परिचालन गर्नुपर्ने सुरक्षा विश्लेषण छ ।

प्रहरीले चार हजार ६१४ निर्वाचनस्थललाई अतिसंवेदनशील मानेको छ । जुन कुल मतदानस्थलको ४२.०७ प्रतिशत हो । अतिसंवेदनशील मतदानस्थलमा बागमती र मधेश प्रदेशमा बढी छन् ।

बागमतीमा एक हजार २८८ र मधेशमा एक हजार २४६ गरी दुईहजार ५३४ मतदानस्थल अतिसंवेदनशील छन्, यो कुल अतिसंवेदनशीलको ५४.९१ प्रतिशत हो । बाँकी दुई हजार ८० अर्थात् ४५.०९ प्रतिशत अतिसंवेदनशील निर्वाचनस्थल अन्य प्रदेशमा छन् । उपत्यकामा १२, कोशीमा ४३९, गण्डकीमा ३२८, लुम्बिनीमा ४६२, कर्णालीमा ३५८ र सुदूरपश्चिममा ४८१ छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज