बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

नेपाल भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांकमा सुध्रिएन, वरीयता झन् खस्कियो

काठमाडौं । भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकांकमा नेपालको खराब अवस्था नसुध्रिएको रिपोर्ट आएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)ले विश्वमा व्याप्त भ्रष्टाचारको अवस्थाको मूल्यांकन गरी जारी गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सिपिआई), २०२५ ले नेपाललाई भ्रष्ट मुलुकको श्रेणीमा सूचीकृत गरेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको नेपाल च्याप्टर टिआई नेपालले मंगलबार जारी गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा सिपिआई अंक अघिल्लो वर्षकै यथावत् छ । विश्व वरीयतामा भने दुई स्थान तल खस्किएको छ । नेपालको सिपिआई स्कोर (अंक) ३४ छ भने वरीयतामा १०९औँ स्थानमा धकेलिएको छ । अघिल्लो वर्ष सन् २०२४ मा नेपालको स्कोर ३४ नै रहेकोमा वरीयता १०७औँ स्थानमा थियो । सन् २०२४ मा १८० मुलुकको दाँजोमा नेपाल १०७औँ स्थानमा रहेकामा सन् २०२५ मा १८२ मुलुकको सूचीमा १०९औँ स्थानमा पुगेको हो ।

विख्यात ६ अन्तर्राष्ट्रिय संस्थाले विभिन्न क्षेत्र समेटेर तयार गरेको सर्वेक्षणका आधारमा ट्रान्सपरेन्सीले औसत सिपिआई अंक तयार गरेको छ । ती संस्थाहरूद्वारा १५ भदौ ०८२ अर्थात् सन् २०२५ को अगस्ट महिनासम्मका सुशासनसम्बन्धी तथ्यांकलाई आधार बनाई नेपालको अंक निर्धारण गरिएको ट्रान्सपरेन्सीले उल्लेख गरेको छ ।

संसारभरका १८२ मुलुकको भ्रष्टाचार अवधारणा सर्वेक्षण गर्दा ट्रान्सपरेन्सीले सन् २०२५ का लागि औसत अंक ४२ कायम गरेको थियो । औसतभन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई तुलनात्मक रूपमा भ्रष्टाचार बढी व्याप्त भएको मानिन्छ । नेपालले औसतभन्दा पनि आठ अंक कम प्राप्त गरेको छ । सरकारले भ्रष्टाचार नियन्त्रणमा काम नगरेको ट्रान्सपरेन्सीले प्रतिवेदनमा औँल्याएको छ । नेपालको सन्दर्भमा ट्रान्सपरेन्सीले भनेको छ, ‘लामो समयदेखि नेपालले ३५ भन्दा कम अंक पाउँदै आएको सन्दर्भमा सूचकांकमा तल्लो तहमा रहेको यस अंकले नेपालमा पटक–पटक सत्तामा रहेका सरकारहरूद्वारा भ्रष्टाचारविरुद्ध ठोस काम गर्न नसकेको देखाएको छ ।’

सम्बन्धित समाचार

ताजा न्यूज