मङ्ल, अशोज ६, २०८३
21.1 C
Kathmandu

केपी ओली र रमेश लेखकलाई बयानमा बोलाउने जेनजी छानबिन आयोगको निर्णय

काठमाडौं । जेन–जी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाउने निर्णय गरेको छ । तत्कालीन गृहसचिवसम्मको बयान लिइसकेको आयोगको आइतबारको बैठकले ओली र लेखकलाई पनि बयानमा बोलाउने निर्णय गरेको हो । ‘उहाँहरूलाई बयानमा बोलाउने निर्णय भइसकेको छ,’ आयोग प्रवक्ता विज्ञानराज शर्माले भने ।’

ओली र लेखकमाथि छानबिनमा ढिलाइ भएकोमा सहिद परिवार र जेन–जी अगुवाले सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूलाई सोध्ने प्रश्न पनि तयार पारिसकेको आयोगका एक सदस्यले बताए ।

२३ भदौको भ्रष्टाचारविरोधी आन्दोलनमा सरकारले घातक हतियारबाट अन्धाधुन्ध गोली चलाउँदा बानेश्वर क्षेत्रमा मात्रै १७ युवाको ज्यान गएको थियो । उपत्यकाबाहिर दुई युवा मारिएका थिए । एक सयभन्दा धेरै घाइते भएका थिए । कतिपय घाइते अझै अस्पतालमै उपचाररत छन् ।

आयोगले हालसम्म १५० भन्दा धेरैसँग बयान, बयान कागज तथा सोधपुछ गरिसकेको छ । फिल्डमा खटिएका प्रहरीदेखि उनीहरूका कमान्डर तथा गुप्तचर प्रमुखसम्म आयोगले बयान लिइसकेको छ । सोमबार पनि आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल तथा काठमाडौंका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारीसँग बयान लिएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाहेक सबैको बयान सम्पन्न भइसकेको आयोगले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज