काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले पार्टी जिम्मेवारीमा फर्किएका छन्। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि जेल परेका लामिछाने धरौटीमा रिहा भएका थिए।
त्यसपछि उनले आइतबारदेखि पार्टीको जिम्मेवारी सम्हालेका हुन्। उनलाई पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले स्वागत गरेका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेज्यू पार्टी केन्द्रीय कार्यालयस्थित आफ्नो कार्यकक्षमा फर्किनु भएको छ। कार्यवाहक सभापति डिपी अर्यालज्यूले उहाँलाई स्वागत गर्नुभएको छ,’ प्रवक्ता मनीष झाले जानकारी दिए।
रविले पार्टी पंक्तिलाई अहिले उत्साहित हुन सकिने भए पनि उत्सव मनाउने बेला नभएको बताएका थिए।
‘अझै धेरै संघर्ष र धेरै जिम्मेवारी बाँकी छ,’ उनले भने, ‘पार्टीका विभिन्न जिम्मेवारीमा रहनुभएका सबैलाई संयमित र अनुशासित रहन अनुरोध गर्छु।’
