काठमाडौं । एमालेको भावी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको ११ औं महाधिवेशनको बन्दसत्रमा सोमबार ओली र पोखरेलसहित नेताहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
बुधबार पदाधिकारीसहित केन्द्रीय कमिटीको निर्वाचन हुनेछ ।मंगलबार मतदानको समय निर्धारण गरिए पनि पटक पटक सारेर बुधबारका लागि पु¥याइएको हो ।
दुई पटक पार्टीको नेतृत्व गरिसकेका ओलीले तेस्रो पटक अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् । उनले आफ्नो टिमको महासचिवमा शंकर पोखरेललाई निरन्तरता दिएका छन् । पोखरेलले निरन्तरता पाएपछि उपमहासचिव प्रदीप ज्ञवालीले असन्तुष्ट हुँदै उपाध्यक्षमा उम्मेदवार हुन अस्वीकार गरेका छन् । उनले केन्द्रीय कमिटी सदस्यका लागि मात्र उम्मेदवारी दिएका छन् । ओली टिमको उपाध्यक्षका उम्मेदवारमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ छन् । पौडेल, थापा र बराल यसअघि पनि उपाध्यक्ष थिए । महासचिवको दाबी गरेका गुरुङलाई उपाध्यक्षको उम्मेदवार बनाइएको हो ।
ओली प्यानलतर्फ उपमहासचिवका उम्मेदवारमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल छन् । रिमाल यसअघि पनि उपमहासचिव थिए भने महासेठ र भट्ट सचिव थिए । ओलीले प्रारम्भिक सूचीमा भट्टलाई सचिवको उम्मेदवार बनाएका थिए । तर उनले अस्वीकार गरेपछि उपमहासचिवमा उठाउने तयारी गरिएका भानभुक्त ढकाललाई सचिवको उम्मेदवार बनाई भट्टलाई उपमहासचिवको उम्मेदवार बनाइएको हो ।
ओली टिमका सचिव उम्मेदवारमा भानुभक्त ढकाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई छन् । पद्मा अर्याल र छविलाल विश्वकर्मा यसअघि पनि सचिव थिए । सचिवका उम्मेदवार हिक्मत कार्की कोशी, यामलाल कँडेल कर्णालीका मुख्यमन्त्री हुन् । शेरधन राई कोशी र खगराज अधिकारी गण्डकीका पूर्वमुख्यमन्त्री हुन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारको रुपमा टंक कार्की र भीम आचार्य पनि उम्मेदवार छन् । ओलीनिकट स्थायी कमिटी सदस्य अग्नि खरेलले प्यानलमा नपरेपछि सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सचिवमा दाबी गरेका लालबाबु पण्डित र राजेन्द्र गौतम पनि ओली प्यानलमा परेनन् । गौतमले उपमहासचिवा उम्मेदवारी दिएका छन् भने पण्डितले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । गौतम प्रचार विभाग प्रमुख र पण्डित सम्पर्क विभाग प्रमुख थिए । एमालेका पूर्वउपाध्यक्ष एवं सभामुख सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ पनि ओली टिममा अटाएनन् । उनले खुलातर्फ उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीबाट एमालेमा फर्किएकी रामकुमारी झाँक्रीले संस्थापनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् ।
अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल पनि प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । पोखरेलको टिमबाट उपाध्यक्ष उम्मेदवारमा गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र अरुण नेपाल छन् । एक उपाध्यक्षमा उम्मेदवार उठाइएको छैन । विष्ट यसअघि सचिव थिए । दानमा केन्द्रीय कार्यालय बनाउने निर्णयको विरोध गरेपछि बिन्दा पाण्डे निलम्बनमा परेकी थिइन् । महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् । यसअघि उनी उपाध्यक्ष थिए ।
सचिव रहेका योगेश भट्टराईले पोखरेल पक्षबाट उपमहासचिवमा उम्मेदवारी दिएका छन् । अरू दुई उपमहासचिवमा आनन्द पोखरेल र वैजुनाथ चौधरी छन् । पोखरेल पक्षबाट सचिव पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, रचना खड्का, पुरुषोत्तम पौडेल र इन्द्रलाल सापकोटाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनुअघिसम्म श्रेष्ठ ओली खेमामा थिए । २०७८ मा चितवनमा भएको १० औं महाधिवेशनमा बाँस्कोटा, श्रेष्ठ र थापा पनि ओलीनिकट थिए । २०७४ मा ओली प्रधानमन्त्री हुँदा बाँस्कोटा सञ्चारमन्त्री थिए ।
नेता पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत चलाउन आफू अध्यक्षको उम्मेदवार बनेको बताए ।
३०१ पदका लागि ६०३ उम्मेदवारी
निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलका अनुसार केन्द्रीय कमिटीको ३०१ पदका लागि ६०३ उम्मेदवारी परेको छ । पदाधिकारीतर्फ अध्यक्ष (१) मा २, उपाध्यक्ष (५) मा ११, महासचिव (१) मा २, उपमहासचिव (३) मा ७, सचिव (९) मा २० जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारीमा उम्मेदवारी दर्ता गरेका नेताहरूले केन्द्रीय सदस्यमा पनि मनोनयन गराएका छन् ।
