काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिएका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै दस्तावेज अघि सारेका छन् । मंसिर २७ गतेदेखि सुरू हुने ११ औं महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा आफूहरूले उठाएका कुरा पनि समेट्न आग्रह गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले च्यासल पुगेर महासचिव शंकर पोखरेललाई दस्तावेज बुझाएका हुन्।
उक्त दस्तावेजमा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेतृत्वको दुई कार्यकाल र ७० वर्षे उमेर हदलगायत विषय पार्टीमा विधि बनिसके पनि तोडमोड गरिएको कुरा उल्लेख गरेका छन् भने यस्ता कुराले पार्टीमा समस्या ल्याउने उनको भनाइ छ। एमाले महाधिवेशनमा पोखरेल पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गर्नुपर्ने विषय पोखरेल पक्षले दस्ताबेजमै समेटेको छ । पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै भण्डारीलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढंगले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्ने औँल्याइएको छ ।
आगामी महाधिवेशन (२७–२९ मंसिर)मा प्रस्तुत गर्न तयार पारिएको पोखरेल पक्षको दस्ताबेजमा यतिवेला निर्वाचनमा जानु, नयाँ जनादेशसहितको संसद् स्थापना गर्नु र त्यसका माध्यमबाट विद्यमान संवैधानिक समस्या हल गर्दै बरालिएको राजनीतिक कोर्स करेक्सन गर्नुको विकल्प नभएको ठहर छ ।
‘चार दशकभन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएकी पार्टीको पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपतिजस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो । पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढंगले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ, उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ ’ दस्ताबेजमा भनिएको छ ।
