काठमाडौं । एमालेले अध्यक्ष केपी ओलीका लागि भक्तपुरको गुन्डुमा नयाँ आवास निर्माण औपचारिक रूपमा सुरु गरेको छ । १५ आना तीन पैसा जग्गामा बन्न थालेको निवासलाई ‘ओली कुटी’ भनिएको छ ।
जेन–जी आन्दोलनका क्रममा बालकोटस्थित निवासमा तोडफोड र आगजनी भएको थियो । सेनाको ब्यारेकमा बसेर फर्किएपछि ओली गुन्डुमा विष्णु श्रेष्ठको घरमा बस्दै आएका छन् । गुन्डुस्थित उनको आवास व्यवस्थापन, सुरक्षा र सम्पूर्ण समन्वय बस्नेतकै जिम्मामा छ ।
ओलीको अढाईतले निवास भक्तपुरको परम्परागत नेवारी सांस्कृतिक पहिचान र ग्रामीण परिवेश झल्किने गरी निर्माणको डिजाइन गरिएको छ । भवनको भुइँतलामा बैठक कक्ष, प्रतीक्षालय, पुस्तकालय, लिभिङ रुम र डाइनिङ कक्ष रहनेछन् ।
दोस्रो तलामा परिवारका लागि बेडरुम तथा विशिष्ट व्यक्तिहरूसँग भेटघाट कक्ष रहनेछ । तेस्रो तला पाहुनाका लागि कोठा, ओलीका लागि अध्ययन कक्ष तथा ‘ग्रिन रुम’का रूपमा उपयोग हुने गरी डिजाइन गरिएको छ ।
कौसीखेती गर्ने सुविधा छ । प्रारम्भिक डिजाइनअनुसार करिब एक करोड रुपैयाँ लागतमा घर निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।
