काठमाडौं । एमालेको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आमने–सामने हुने निश्चित भए पनि दुवैतर्फ टिम निर्माणमा सकस हुने देखिएको छ । अध्यक्षसहित १५ सदस्यीय पदाधिकारीका लागि ठुलो संख्यामा आकांक्षी देखिएपछि अध्यक्षमा तेहेरिन चाहेका ओली र उनलाई टक्कर दिने गरी आन्तरिक तयारीमा जुटेका पोखरेल दुवैलाई टिम निर्माणमा सकस हुने भएको हो । यद्यपि, दुवै पक्षले १३ मंसिरको प्रतिनिधि छनोट प्रक्रिया सकिएपछि मात्रै टिम निर्माणसम्बन्धी औपचारिक छलफल चलाउने तयारी गरेका छन् ।
महाधिवेशनका लागि तीन दिनदेखि देशैभर प्रतिनिधि छनोट प्रक्रिया चलिरहेका वेला एमालेको केन्द्रीय पदाधिकारीमा पहिलोपटक ‘डेब्यु’ गर्न र दोहोरिन–तेहेरिन चाहने आकांक्षी तीन दर्जनभन्दा बढी देखिएका छन् । अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, तीन उपमहासचिव र सात सचिवसहित १५ सदस्यीय पदाधिकारी प्रस्तावित छ । केन्द्रीय समिति २५१ सदस्यीय छ ।
२७ देखि २९ मंसिरसम्म काठमाडौंमा आयोजना गरिने महाधिवेशनको भक्तपुरको सल्लाघारीमा उद्घाटन र भृकुटीमण्डपमा बन्दसत्र गर्ने एमाले निर्णय छ । महाधिवेशनको ‘काउन्ट डाउन’ नजिकिँदै जाँदा पदाधिकारीमै आकांक्षीको संख्या ५० हाराहारी पुग्न सक्ने एमाले नेताकै भनाइ छ । तर, दुवै पक्ष प्रतिनिधि छनोटका आधारमा आफ्नो शक्ति आकलन गरी टिम बनाउने योजनामा छन् ।
एमालेले १३ मंसिरमा प्रतिनिधि छनोट सकेर १५ मंसिरभित्र सबै विवरण पठाइसक्न सबै प्रदेश, जिल्ला, प्रवास र जनसंगठनहरूलाई निर्देश गरेको छ । पदेन र मनोनीतबाहेक ६ लाख ७० हजार सदस्यबाट कम्तीमा साढे १६ सय प्रतिनिधि भूगोलको निर्वाचन क्षेत्रसहित विभिन्न स्थानबाट निर्वाचित भएर आउनेछन् ।
१५ मंसिरभित्र केन्द्रीय कार्यालयमा प्रतिनिधिहरूको विवरण आइसकेपछि अध्यक्ष ओली स्वयंले सचिवालयमा पदाधिकारीका आकांक्षीबिच छलफल चलाउने वचन दिएका छन् । जसका कारण पनि उनीनिकट रहेका कोही पनि पदाधिकारीले सार्वजनिक रूपमा मुख खोलेका छैनन् । पोखरेलनिकट नेताहरू पनि महाधिवेशन प्रतिनिधि संख्या आकलन गरेर ओलीले नेतृत्व छनोटकेन्द्रित छलफल चलाएपछि मात्रै रणनीति बनाउने योजनामा छन् । त्यही बैठकमा ओलीनिकट नेताहरूको आकांक्षा प्रकट हुने र उनीहरूबिच प्रतिस्पर्धा र विवाद देखिन सक्ने बुझाइमा पोखरेल पक्ष छ ।
