काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनसम्बन्धी ठोस निर्णय लिन नसकिरहेका वेला संस्थापन इतरपक्षले दबाबमूलक अभियान थालेको छ । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि इतरपक्ष विशेष महाधिवेशनका लागि दबाबमूलक अभियानमा लागेको हो ।
इतरपक्षका नेताहरूले डा. शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार रणनीतिक छलफल गरेका छन् । पुसभित्र नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन संस्थापन पक्ष तयार नभए विधानअनुसार विशेष महाधिवेशनमा जाने छलफलको निष्कर्ष छ । नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सबै नेता पुसभित्र महाधिवेशनको पक्षमा रहेको छलफलमा सहभागी नेता गुरुराज घिमिरेले बताए ।
गत २९ असोजमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ । तर, विशेष महाधिवेशनको निवेदनमाथि छलफल नगराएको भन्दै हस्ताक्षर अभियान चलाएका नेताहरू असन्तुष्ट बनेका छन् ।
बालुवाटार छलफलमा महामन्त्री थापाले सभापति शेरबहादुर देउवासँग पछिल्लो समय आफ्नो भेट नभएको बताए । गत २८ कात्तिकमा सिंगापुरबाट फर्किएपछि देउवाले नेताहरूसँग ‘वन टु वन’ र सामूहिक छलफल गरिरहेका छन् । तर, आफूसँग छलफल नभएको थापाले बताएका हुन् ।
