बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान हुँदै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत अनुसन्धान अघि बढेको छ । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले चार दिनको म्याद थपेर अनुसन्धान थालेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले प्रसाईंलाई सोमबार मध्यराति भक्तपुर मध्यपुरठिमी नपा– ६ निकोसेरास्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि थप अनुसन्धानका लागि उनलाई अहिले जिल्ला प्रहरीपरिसर काठमाडौं बुझाएको थियो ।

मुलुकी अपराधसंहिता, ०७४ को परिच्छेद २ सार्वजनिक शान्तिविरुद्धको कसुर लगाएर म्याद थप गर्न परिसरले उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौं लगेको थियो । सोहीअनुसार प्रशासन कार्यालयले उनीविरुद्ध चार दिनको म्याद थप गरेको काठमाडौंपरिसरका प्रवक्ता एसपी पवन भट्टराईले बताए ।

प्रसाईंले नागरिक बचाउ महाअभियान नेपालको नाममा आगामी ७ मंसिरमा सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए । महाअभियान नेपालका अध्यक्षसमेत रहेका प्रसाईंले महिना दिनयता सरकारविरुद्ध उत्तेजित अभिव्यक्ति दिँदै आएका थिए । साता दिनयता उनले सरकारविरुद्ध धारावाहिक भिडियो रिपोर्ट नै सार्वजनिक गर्दै आएका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज