काठमाडौं । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटअन्तर्गत सुपर सिक्सको खेलमा नेपालले अर्को रोमाञ्चक जित हात पारेको छ ।
सोमबारराति सम्पन्न खेलमा नेपालले कतारमाथि ५ रनको जित निकालेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार अन्तिम एक बल खेल्न बाँकी छदा १४२ रनमा अलआउट भयो ।
जितसँगै सुपर सिक्समा नेपालले शीर्ष स्थानको ओमानसँग समान ६ अंक जोडेको छ । यो जितले नेपाल सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा छनोटनजिक पुगेको छ ।
नेपालको जितमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले पाँच विकेट लिन सफल भए ।
अब नेपालले तेस्रो खेलमा बुधबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा नेपालले सामोआसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्षको फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा स्थान पक्का गर्नेछन् ।
शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० कपमा छनोट हुनेछ ।
