काठमाडौं । संसद् विघटनको मुद्दामा प्रमुख दलहरूले असन्तुष्टि जनाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो कदमको बचाउ गरेका छन् । राष्ट्रपति पौडेलले पछिल्लो राजनीतिक निर्णयबाट संविधान तथा संसदीय प्रणाली बचेको र संघीय लोकतान्त्रिक गणतन्त्र कायम भएको जिकिर गरेका छन् ।
राष्ट्रपति पौडेलले वक्तव्य जारी गरी बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन सबै पक्षलाई अपिल गरेका हुन्।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सहयोग अपिल गर्दै उनले असहज परिस्थितिबाट शान्तिपूर्ण निकास खोज्दै निर्वाचन सम्पन्न गर्न आग्रह गरे।
उनले भनेका छन्, ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ। संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ। छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्। बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी फागुनका लागि तोकिएको चुनाव सम्पन्न गराउन म सबै पक्षलाई हार्दिक अपिल गर्दछु।’
