एजेन्सी । भारतको उत्तराखण्डस्थित उत्तरकाशी जिल्लामा मंगलबार ‘क्लाउड ब्रस्ट’ (बादल फुटेर भएको वर्षा)का कारण भएको भीषण वर्षापछि आएको बाढीले ठुलो जनधनको क्षति भएको छ।
वर्षाका कारण उत्तरकाशीको हर्षिल क्षेत्रमा रहेको खिर गंगा गदेरा (गहिरो खाडल वा नाली) मा पानीको स्तर अचानक बढ्यो, जसले गर्दा धराली गाउँमा ठुलो क्षति भएको छ ।
उत्तरकाशीका जिल्ला मजिस्ट्रेट प्रशान्त आर्यले सञ्चारमाध्यमलाई बताएअनुसार अहिलेसम्म चारजनाको मृत्यु भएको र केही सम्पत्तिमा क्षति पुगेको रिपोर्ट गरिएको छ।
एनडिआरएफका डिआइजी मोहसेन सहेदीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार प्रारम्भिक जानकारीअनुसार घटनामा ४० देखि ५० घरहरू बगेका छन् र ५० भन्दा बढी मानिस बेपत्ता भएका छन्। धरालीका स्थानीयहरूले विनाशको मात्रा ठुलो भएको र यसले ठुलो जनधनको क्षति पुर्याएको दाबी गरेका छन्।
मुख्यमन्त्री पुष्करसिंह धाँमीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले आफू वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्।
ऋषिकेश–गंगोत्री मार्गमा पर्ने धराली बजार भागीरथी नदीको किनारमा छ भने बजारको मध्यभाग हुँदै खिरगंगा नदी बग्छ । खिरगंगा भागीरथीमै गएर मिसिन्छ । यो सानो नदीमै मंगलबार भीषण बाढी आएको हो । धरालीबाट गंगोत्री धाम करिब ५० किलोमिटर दूरीमा पर्छ ।
गंगोत्री यात्रामा नेपालीसमेत ठूलो संख्यामा जान्छन् । वैशाख–जेठदेखि असोज–कात्तिकसम्म गंगोत्री यात्रा चल्छ । धराली बजार भएरै गंगोत्री धाम जानुपर्छ ।
