काठमाडौं । साउनको सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ। साउनको सोमबार उपवास बसी भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा छ। साउने सोमबार विधिपूर्वक शिवको आराधना गर्दा परिवारमा सुख शान्ति र समृद्धि आउने विश्वास छ।
सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबार आफैमा विशेष महत्वको महिना हो ।
साउनको महिना भित्र पनि बढी सोमबारको महत्व हुन्छ । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकाक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि महिलाहरु शिवमन्दिरमा गएर पूजाआजा गर्ने गर्छन् ।
विशेषगरी महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहेन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा–पोते लगाएर शिवको पूजा गर्दछन् ।
पौराणिक मान्यताअनुसार पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई खुसी पार्नका लागि यो महिना विशेष हुन पुगेको हो ।
