आइत, कार्तिक २३, २०८३
12.1 C
Kathmandu

भक्तपुरको गट्ठाघरमा दुर्घटनामा परेर मृत्यु हुनेमा ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइराला रहेको पुष्टि

काठमाडौं । बिहीबार दिउँसो भक्तपुरको गट्ठाघरमा दुर्घटनामा परेर मृत्यु हुनेमा ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइराला रहेको पुष्टि भएको छ । उनका परिवारका सदस्यले आज सनाखत गरेका हुन् । उनी ओखलढुंगा चिसंखुगढी गाउँपालिका– खहरे तलुवाका भएको पुष्टि भएको छ ।

काठमाडौंको कपनमा बस्दै आएका उनी हिजो भक्तपुर गएको परिवारका सदस्यलाई उद्धृत गर्दैै प्रहरीले जनाएको छ । बिहीबार ट्रकले ठक्कर दिँदा उनको शरीर क्षतविक्षत् अवस्थामा रहेकाले पहिचान हुन सकेको थिएन ।

बिहीबार अपराह्न १ः४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिरहेको थियो । करिब ६० मिटर पर बसेका ट्राफिक प्रहरीले अचानक ५० किलोमिटर प्रतिघण्टाको गतिभन्दा बढीमा आएको भन्दै बा३९प ८९४४ नम्बरको स्कुटरलाई बीच सडकमा रोक्न लगाए, स्कुटर रोकियो ।

सडकमा अचानक स्कुटर रोकिएपछि पछाडिबाट आएको ना६ख २१७३ नम्बरको मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । तीव्र गतिको ट्रकले स्कुटरलाई ठक्करमात्र दिएन, झन्डै एक सय मिटर परसम्म घिसारेर लग्यो ।

स्कुटर चालकको शरीर क्षतविक्षत बन्यो । दुर्घटना हुनबित्तिकै मानिस जम्मा भए । त्यो भिड आक्रोशित र एकत्रित भयो । ट्रक चालक तत्काल फरार भए । चालक फरारसँगै आक्रोशित भिड प्रहरीमाथि खनियो ।

ट्राफिक प्रहरीले सडकमा जथाभाबी ‘स्पिड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भिड ट्राफिक प्रहरीमाथि नै जाइलाग्यो ।

सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीको भागभाग भयो । आक्रोशित भिडले ट्रक तोडफोडसँगै आगजनीको प्रयाससमेत गर्‍यो । त्यसपछि आक्रोशित भिड र प्रहरीबीच ढुंगा हानाहान भयो । स्थिति निकै तनावग्रस्त बन्यो । केही प्रदर्शनकारी र केही प्रहरी घाइते भए । प्रहरीले प्रर्दशनकारीमाथि लाठीचार्ज गर्‍यो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो । तनावकाबीच प्रहरीले शव झिक्न निकै प्रयास गर्‍यो । टायरमुिन शव परेकाले तान्दा पनि आएन । त्यसपछि क्रेन ल्याएर शव झिक्न खोज्दा आक्रोशित भिडले अवरोध गरेपछि स्थिति पुनः तनावग्रस्त भयो ।

भिड नियन्त्रणका लागि भक्तपुरका ११८ जना प्रहरी, काठमाडौंबाट आएका १३० जना प्रहरी र सशस्त्रका १२३ जना परिचालन भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित भिडले प्रहरी बिट, ट्राफिक आइरल्यान्ड र प्रहरीका विभिन्न सामग्री तोडफोड गरे ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले पाँच घण्टापछि शव निकालेर सडक खुलाइएको जानकारी दिए । भिड नियन्त्रणमा लिन सशस्त्र प्रहरीले आठ राउन्ड र नेपाल प्रहरीले २२ राउन्ड अश्रु ग्यास प्रहार गरेको जानकारी प्रजिअ श्रेष्ठले बताए ।

घटनाको छानबिन सुरु भइसकेको जानकारी दिँदै उनले सडकमा राखिएको फलामे बोर्डका कारण सीसी क्यामेरामा दुर्घटनाको दृश्य हेर्न समस्या आएको बताए । घटना भएको ६ घण्टापछि मृतक पुरुष रहेको पहिचान भयो । प्रजिअ श्रेष्ठले मृतक महिला नभई पुरुष भएको खुलेको जानकारी दिए ।

घटनामा संलग्न ट्रक चालक सर्लाही मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइसकेको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज