काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी केन्द्रीय कार्यालयको बैठकमा जनतामा संगको सम्बन्धलाई सुदृढ गर्ने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् । आज बसेको बैठकमा प्रचण्डले कमजोर बनेकोसम्बन्धलाई सुधार गर्ने मौका माओवादीले अहिले पाइरहेको बताएका हुुन् । प्रचण्डले भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाहको क्षेत्रमा र कुटनैतिक क्षेत्रमा राम्रो काम गर्दागर्दै सरकारबाट बाहिरिनु परेको समेत बताए ।
‘हामीले सरकारमा रहेर भ्रष्टाचारको विरुद्धमा, सुशासनको पक्षमा, जनतालाई सेवा प्रवाह गर्ने पक्षमा, कुटनैतिक क्षेत्रमा हामीले निकै राम्रो पहलकमदी लिएका थियौं । त्यो पहल कदमी लिँदालिँदै समीकरण परिवर्तन गरियो ।’ अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘यसले हामीलाई ठूलो ऐतिहासिक अवसर जुटेको छ । जनतामा जाने र कहीँ न कहीँ हाम्रो जनतासितको कडी टुटेको थियो । हाम्रो वर्गसितको सम्बन्ध कमजोर भएको थियो । त्यो सम्बन्धलाई सुदृढ गर्ने निकै ठूलो ऐतिहासिक अवसर प्राप्त भएको छ भन्ने कुरा उनले बताए ।’
अध्यक्ष प्रचण्डको ब्रिफिङपछि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव चक्रपाणि खनाल, हितराज पाण्डे, प्रवक्ता सापकोटा, उपमहासचिव वर्षमान पुन र राम कार्कीले आ–आफ्नो धारणा राखेको पनि प्रवक्ता सापकोटाले बताए । नेताहरुले अब माओवादी रुपान्तरण र सुद्धीकरणको बाटोमा जानु जरुरी रहेको धारणा राखेका प्रवक्ता सापकोटाले बताए ।
‘हामी रुपान्तरण र सुद्धीकरणलाई जोड दिन्छौं । त्यो सुद्धीकरण कस्तो हुन्छ त भन्दाखेरी पार्टीको सुद्धीकरण त हुँदै हो । त्यसका साथसाथै यो राज्यको पनि सुद्धीकरण हो, आन्दोलनको पनि हो,’– प्रचण्डको ब्रिफिङपछि नेताहरुले राखेको धारणाबारे प्रवक्ता सापकोटाले भने ।
बैठकमा आज ६ जना नेताहरुले धारणा राखेका थिए । कूल २२ सदस्यीय केन्द्रीय कार्यालय बैठकमा भोलि र पर्सीमा सबै नेताहरुले धारणा राख्ने बताइएको छ ।
