काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयन नहुने बताएकी छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि मन्त्री राणाले व्यक्त गरिन्।
एमसीसी संसदमा समेत व्यापक छलफल भएको उल्लेख गर्दै मन्त्री राणाले सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको बताइन्।
उनले भनिन्, ‘बीआरआई सम्बन्धी पनि जति पनि कुराहरू आइरहेका छन्। त्यसमा पनि एउटा ब्रड फ्रेमवर्क २०१७ मा नै साइन भएको हो। र इम्पिलिमेन्टेसन डकुमेन्टको बारेमा चाँही छलफल मात्रै सुरु भएको छ। अहिले यही नै गरिहाल्ने, यो मोडालिटीमा जाने अब यो ऋण लिने हो कि लोन लिने हो किरु कुन कुन प्रोजेक्टमा जाने भन्ने त्यो कुनै पनि तय भएको छैन। अब यसमा लार्जर छलफलमा जानुपर्छ।’
उनले भनिन्, ‘बीरआरआई भनेको अहिले फ्रेमवर्कमात्रै हो। बीआरआई भन्ने बित्तिकै एकदमै डराएर भाग्नुपर्ने जस्तो पनि लाग्दैन। यसमा कसरी जाने भन्नेबारेमा छलफल हुन बाँकी नै छ। यो छलफलमा हामी सबैले भाग लिनुपर्छ भन्ने लागेको छ।’
