काठमाडौं । लुम्बिनी प्रदेशसभामा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बन्ने भएका छन् ।
पार्टी केन्द्रको ठाडो निर्देशनपछि पूर्वमुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लीला गिरीको नाम काटिएको छ । उनलाई पछि पार्दै आचार्य मुख्यमन्त्री बन्न लागेका हुन् । आज बिहानसम्म गिरी मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारीमा थिए ।
तर, पार्टी केन्द्रले उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको छ । एमालेका लुम्बिनी प्रदेशसभा सदस्य भूमिश्वर ढकालले केन्द्रबाट आचार्यलाई मुख्यमन्त्री बनाउने निर्देशन आएको जानकारी दिए ।
गिरी यसअघि ०७९ पुस २७ गते मुख्यमन्त्री बनेका थिए । केन्द्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन बनेपछि उनले पद गुमाएका थिए ।
माओवादीबाट मुख्यमन्त्री रहेका जोखबहादुर महराले आइतबार प्रदेशसभा बैठकमा पदबाट राजीनामाको घोषणा गरेका थिए । नयाँ गठबन्धनपश्चात् अल्पमतमा परेका महराले राजीनामा दिएसँगै एमालेले त्यहाँ मुख्यमन्त्री पाएको छ ।
गिरी दलको नेता कायम रहने र उपनेता मुख्यमन्त्री बन्ने केन्द्रले निर्णय गरेको हो । मुख्यमन्त्री बन्न लागेका आचार्य महासचिव शंकर पोखरेलनिकट हुन् । गिरी उपाध्यक्ष विष्णु पौडेलनिकट मानिन्छन् । लुम्बिनीमा पौडेल र पोखरेलबीच शक्तिको लडाइँ हुँदै आएको छ ।
