काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिलएल)मा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन् । त्रिवि मैदान कीर्तिपुरमा अपराह्न ४ बजे विराटनगर र लुम्बिनीको खेल सुरु हुनेछ । दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन् ।
विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ । विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ । ४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ । प्लेअफ सम्भावना कायमै राख्न लुम्बिनीलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
विराटनगरमा आबद्ध भएका दक्षिण अफ्रिकाका ब्याटर फाप डु प्लेसिस सोमबार नेपाल आइसकेका छन् । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने हुन् ।
विराटनगरका खेलाडीमा सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ छन् ।
लुम्बिनी लायन्सको कप्तानको जिम्मेवारी रोहित पौडेलले सम्हालेका छन् । लुमिबनीका खेलाडीमा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन् ।
