सोम, अशोज ५, २०८३
20.1 C
Kathmandu

सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रु हामफालेर आफ्नो ज्यान जोगाउन सफल

काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् ।

रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना छन् । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्‍याइएको छ ।

यात्रुले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाएका छन् ।

ती यात्रुका अनुसार उनीसँगै क्याबिनमा चार जना पनि थिए । उनले आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको बताएका छन् ।

आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेका थिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन ।

पहिरोमा परेर बससहित यात्रुहरु त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज