काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकअघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ‘सी’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सँग भेटवार्ता गरेका छन् ।
अध्यक्ष प्रचण्डले बिहीबार बिहान निजी निवास खुमलटारमा बोलाएर नेता नेपालसँग एक घण्टा भेटवार्ता गरेका हुन् । दुवै नेतासँगको भेटवार्तामा अध्यक्ष प्रचण्डले पार्टी एकतामा जोड दिएको स्रोतले जनाएको छ ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको बेलामा प्रचण्डको दौडधुप बढ्दो छ । यसअघि प्रचण्डले पार्टी बैठकको समय नै सारेर सोमबार पनि अध्यक्ष नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटेका थिए । उक्त भेटमा अध्यक्ष प्रचण्ड र नेपालबाहेक उनीहरू निकटका केही नेता सहभागी भएपनि बुधबार र बिहीबारको भेटमा भने प्रचण्डले नेपाल र विप्लवसँग एक्ला एक्लै भेटेका थिए ।
विप्लवपछि माधव नेपालसँग पनि प्रचण्डले चाँडो एकता गर्न प्रस्ताव गरेका छन् । तर नेपालले कार्यगत एकता गर्न आफू तयार रहेको तर आफ्नै पार्टीका कतिपय नेताहरू त्यसमा तयार भैनसकेकाले अहिलेनै एकता घोषणा गर्न हतार हुने जवाफ दिएका छन् ।
‘अहिले माधवजी र प्रचण्ड जी दुवैलाई पार्टी जोगाउन मुस्किल छ । एकता दुवैलाई चाहिएको छ । तर हतारको एकता टिक्दैन भन्ने दुवै पार्टीका अन्य नेताको सुझाव रहिआएको छ
