काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरु एक वर्षमा फेरिने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी एक वर्षमा मन्त्रीहरुको सेट नै फेरिने र त्यतिबेला महिला, दलित र अन्य समूदायबाट पनि समावेशी प्रतिनिधित्व हुने स्पष्ट पारेका हुन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार रहेको दाबी गर्दै उनले सबै दललाई मिलाउँदा समावेशी प्रतिनिधित्व हुन नसकेको स्विकारे ।
‘अहिलेको सरकार राष्ट्रिय सहमतिको सरकार हो, एकल सरकार होईन । यो टिम एक वर्षका लागि हो । त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा अर्को टिम आउँछ । दलित पनि आउँछन्, महिलाको संख्या पनि बढ्छ । राष्ट्रिय सहमतिको सरकारलाई सबै दल मिलाउनुपर्ने बाध्यता पनि छ । अरू पार्टीहरुसँग पनि कुरा हुँदैछ । एक÷दुई दिनमा उहाँहरु पनि सहभागी हुनुहुनेछ,’–उनले भने ।
मन्त्री गुप्ताले गत २०७९ को निर्वाचनमा जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिँदा एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपरेको बताए । ‘२०७९ को निर्वाचनमा कुनै पार्टीलाई स्पष्ट बहुमत थिएन । एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनेको छ । अब यो देश अगाडि बढ्छ । हामी यो देशलाई अगाडि बढाउँछौं,’– उनले भने ।
मन्त्री गुप्ताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको यसअघिको सरकारले विगतमा फाइल खोल्छौंमात्रै भनेको र वास्तविक रूपमा काम गर्न नसकेको बताए । उनले वर्तमान सरकारले निवर्तमान सरकारले खोल्छौं भनेका सबै फाइल खोल्ने र छानविन पनि अगाडि बढाउने बताए । उनले वर्तमान सरकारले भ्रष्टाचारीहरु कसैलाई पनि नछाड्ने बताए । ‘जति फाइल खोल्ने पहिला चर्चा जुन थियो र फाइल खुल्दैन थियो । यो सरकारले भ्रष्टाचारीलाई छोड्दैन । ती सबै फाइलहरुको छानविन हुन्छ,’– उनले भने ।
‘कांग्रेसले योभन्दा अगाडिको गठबन्धनलाई ‘सहकारीबन्धु’ भनेर नाम दिएको थियो । अहिलेको गठबन्धनलाई चाहीँ ‘भुटानीबन्धु’ नाम दिन मिल्छ कि मिल्दैन ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने,‘नाम तपाईँहरु जे पनि दिन सक्नुहुन्छ । तर, त्यस्ता कुराहरुको यो सरकारले छानविन गर्छ ।’
मन्त्री गुप्ताले विगतमा अपराध गरेका उपप्रधानमन्त्रीदेखि नेपाल प्रहरीको आईजी, डीआईजीलगायत अहिले जेलमा रहेको बताउँदै अपुष्ट आरोप लागेका मानिस मन्त्री बन्दैमा उनीहरुले गरेको अपराधबाट उन्मुक्ति नपाउने बताए । पदमा जाँदैमा आफूले विगतमा गरेको अपराध कर्मबाट कोही पनि सुरक्षित नहुने उनको भनाइ छ । ‘तपाईँहरुले देख्नुभएको छैन ? यो देशका उपप्रधानमन्त्रीहरु पनि झेलखानामा छन् । आईजी, डीआईजीहरु पनि झेलखानामा छन् । अपराध गरेको छ भने पदमा जाँदैमा केही सुरक्षित हुन्छ र ? त्यो त सजाय पाउँछ,’– उनले भने ।
साथै, बेचन झा पक्राउ पर्दा सरकार ढलेको भन्ने कुरामा सत्यता नरहेको उनको दाबी छ । मन्त्री गुप्ताले उक्त आरोपलाई निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको स्टन्ट गरेको आरोप लगाए ।
