बुध, कार्तिक ५, २०८३
17.1 C
Kathmandu

देउवा समूहको वडा अधिवेशन, पहिलो दिन ३,१९१ वडामा अधिवेशन, १८ गतेसम्म चल्ने

काठमाडौं । कांग्रेसमा समानान्तर महाधिवेशनमा जुटेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वडा अधिवेशन सुरु गरेको छ । २१–२३ मंसिरमा १५औँ महाधिवेशन गर्ने कार्यतालिकासहित देउवा समूहले बिहीबार वडा अधिवेशन थालेको हो । देउवा समूहका केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोखरेलका अनुसार वडा अधिवेशन १८ असोजसम्म जारी रहनेछ । ६७४३ वडामध्ये बिहीबार ३१९१ वडामा अधिवेशन सम्पन्न भएको उनले बताए ।

पोखरेलका अनुसार कोशी प्रदेशका ११५७ वडामध्ये ५७७, मधेश प्रदेशका १२७१ वडामध्ये ४०२, बागमती प्रदेशका ११२१ वडामध्ये ५६३, गण्डकी प्रदेशका ७५९ मध्ये ३८६, लुम्बिनी प्रदेशका ९८३ मध्ये ५५०, कर्णाली प्रदेशका ७१८ मध्ये २५७ र सुदूरपश्चिम प्रदेशका ७३४ मध्ये ४५६ वडामा अधिवेशन सम्पन्न भएको छ । उनका अनुसार रसुवा जिल्लामा बाढीपहिरोका कारण हुन नसकेको र बागलुङमा पार्टीका नेता मणिभद्र शर्मा कँडेलकी श्रीमतीको निधनका कारण १६ असोजमा वडा अधिवेशन हुनेछ ।

महाधिवेशनमार्फत पार्टीलाई थप मजबुत बनाउने देउवाको प्रण
वडा अधिवेशन सुरु हुनुअघि बिहीबार देउवाले अपिल जारी गर्दै पार्टीभित्रको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउने प्रण गरेका छन् । ‘पार्टीभित्रको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउने प्रण पनि गर्दछु,’ देउवाले भनेका छन् ।

उनले अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन नेता तथा कार्यकर्तालाई अपिलसमेत गरेका छन् । ‘कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका वडाहरूको अधिवेशन आजबाट सुरु हुँदै छ । झन्डै आठ दशक लामो इतिहास बोकेको पार्टीको यो अधिवेशन निकै महत्वपूर्ण छ । हामीले नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता, विधिको शासनका लागि गरेका बलिदान, त्याग र संघर्षलाई थप मजबुत बनाउन पनि १५औँ महाधिवेशन हाम्रा लागि निकै महत्वपूर्ण छ । म तमाम कांग्रेसका नेता तथा कार्यकर्ताहरूमा देशभरका ६ हजार ७४३ वडामा एकैसाथ विधि र प्रक्रिया पूरा गरेर सुरु हुनलागेको अधिवेशनमा हर्ष उल्लांसका साथ सहभागी भएर सम्पन्न गर्नुहुनु हार्दिक अनुरोध गर्दछु,’ देउवाले भनेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज