काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले बेग्लै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने तयारी गरेका छन् । सम्पर्क कार्यालय चुनदेवीमा संयोजक शशांक कोइरालाको अध्यक्षतामा बसेको बैठकमा कार्यतालिका प्रस्ताव गरिएको छ । कार्यतालिकामा १५ औं महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने उल्लेख छ।
गगन थापा नेतृत्वको संस्थापन पक्षले १६–१९ असोजमै १५औँ महाधिवेशन गर्ने कार्यतालिकाअनुसार काम थालेकै वेला इतर समूहले पनि मंसिरमा महाधिवेशन गर्ने गरी कार्यतालिका अघि सारेको छ ।
आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा दुवै पक्षले आ–आफ्नो महाधिवेशन कार्यतालिका अघि सारेका छन् । यसले कांग्रेसभित्रको नेतृत्व, क्रियाशील सदस्यता र महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद निर्णायक चरणमा प्रवेश गराएको छ ।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको महाधिवेशन तयारी समितिको बैठकले भदौमा वडा, असोजमा पालिका, कात्तिकमा जिल्ला र मंसिरमा प्रदेश अधिवेशन सम्पन्न गरी २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको हो ।
डा. शशांक कोइरालाको संयोजकत्वमा बसेको बैठकमा तयारी समितिका तर्फबाट पूर्वमहामन्त्री उमाकान्त चौधरीले कार्यतालिका प्रस्तुत गरेका थिए । प्रस्तावअनुसार क्रियाशिल सदस्यता विवाद ६ असोजसम्म टुंग्याएर १५ असोजमा वडा, २० असोजमा पालिका र २३ असोजमा प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन गर्ने तयारी छ । त्यसपछि १५ कात्तिकमा जिल्ला र ४ मंसिरमा प्रदेश अधिवेशन सकेर २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव छ ।
