सोम, कार्तिक ३, २०८३
19.1 C
Kathmandu

बाढीपहिरो प्रभावितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न प्रचण्डको माग

काठमाडौं । नेकपाका संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित नागरिकको तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रचण्डले भने, ‘नेपालको इतिहासमै यति भयानक प्रलय हाम्रो पुस्ताले व्यहोर्नुपर्‍यो,’ उनले भने, ‘हजारौँको जीवन र खर्बौँको भौतिक सम्पत्ति नष्ट भएको पीडा हामीले भोगिरहेका छौँ ।’

सेनाले खेलेको भूमिका राम्रो देखिए पनि सेना परिचालनसँगै व्यापक जनपरिचालन हुन नसकेको उनको भनाइ थियो । ‘सेना परिचालन भयो, तर जनपरिचालन भएन । सेना परिचालनसँगै जनपरिचालन नगर्ने हो भने समस्याको समाधान कठिन हुन्छ,’ प्रचण्डले भने ।

सरकारले उद्धारमा अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै जनस्तरबाट गुनासो आएको पनि उनले बताए । उनका अनुसार सुरुका दुई दिन ‘आफैँ गर्छौँ’ भन्ने मानसिकता देखिएको भन्दै त्यसले सरकारप्रतिको असन्तुष्टि बढाएको छ । ‘सरकार उद्धार कार्यमा असफल भयो भन्ने गुनासो छ । सबै आफैँ गर्छौँ भन्ने अहंकार देखियो भन्ने जनगुनासो छ,’ उनले भने । प्रचण्डले उद्धार तथा राहतमा सबै राजनीतिक दल, संघीय, प्रदेश र स्थानीय सरकार तथा आमनागरिकबिच सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

प्रचण्डले प्रधानमन्त्री शाहले सबैलाई विश्वासमा लिएर काम गर्नुपर्ने बताए । ‘संसद्लाई विश्वासमा लिनु भनेको खाली प्रतिप्रक्षीलाई मात्रै होइन । प्रधानमन्त्रीले आफ्नै सांसदलाई पनि विश्वासमा लिने मेहेनत गरेको देखिनँ,’ उनले भने, ‘उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ? हामी सबैले सहयोग गर्छौं भन्दाभन्दै कसैको पनि अनुहार हेर्न नपर्ने के हो यो तरिका ?’

सरकारसँग अवसर भए पनि अहिलेकै तरिकाले नहुने उनको भनाइ थियो । ‘प्रधानमन्त्रीलाई अवसर छ, गुम्न दिनुहुँदैन । तर, अहिलेको तरिकाले चाहिँ हुँदैन जस्तो लाग्छ । जनताले आश्वासन खोजेका छैनन्, हरेक ठाउँमा सरकारको उपस्थिति खोजेका छन्,’ प्रचण्डले भने, ‘राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभवसहित के भन्छु भने–यस्तो वेलामा धेरै लामो भाषण होइन, देशले नेतृत्व खोजेको हुन्छ । सोसल मिडियामा पोस्ट गरेर चुनाव त जित्नुभयो, तर यो संकट समाधान हुँदैन ।’

सम्बन्धित समाचार

ताजा न्यूज