काठमाडौं । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ को चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद पनि हस्तान्तरण गरे ।
राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए।
नेपालको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको बताउँदै राजदूत माओमिङले नेपालका लागि चीन सरकारले गरेको अन्य प्रकारका सहयोगहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए ।
दुई वटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौँमा ओरालेको राजदूत माओमिङले बताए । साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ।
रसुवामा गएको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उनले अर्थमन्त्रीलाई अवगत गराए ।
