बिहि, कार्तिक ६, २०८३
19.1 C
Kathmandu

मनसुनजन्य विपद् व्यवस्थापनका लागि २६ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापन र प्रतिकार्यका लागि सरकारले उच्च शतर्कताका साथ तयारी गरिरहेको जानकारी दिएका छन् ।

बिहीवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले विपद्को समयमा तत्काल परिचालन हुने गरी देशभर २६ हजारभन्दा बढी सुरक्षाकर्मीलाई तैनाथ अवस्थामा राखिएको बताए ।

गृहमन्त्री गुरुङकाअनुसार विपद्को समयमा नागरिकलाई सहज सेवा उपलब्ध गराउन नेपाल टेलिकमसँगको समन्वयमा ‘१२३४’ टोल फ्री नम्बर सञ्चालनमा ल्याइएको छ । जोखिमको अवस्थामा यो नम्बरमा फोन गरी सहयोग माग्न सकिने उनले बताए । विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिइएको जानकारी दिए ।

विपद् व्यवस्थापनका लागि नेपाली सेनाका ७ हजार ५ सय २४, नेपाल प्रहरीका १० हजार ५ सय ७५ र सशस्त्र प्रहरी बलका ८ हजार १ सय १० गरी कुल २६ हजार २ सय १९ जनशक्ति कार्यक्षेत्रमा खटिएका छन् । जसमा १५३ जना गोताखोरसमेत रहेका छन् ।

त्यसैगरी, सरकारले १९७ वटा दमकल, ४६० वटा एम्बुलेन्स, ६१२ वटा उद्धार डुङ्गा, १६३ वटा एस्काभेटर र १३ वटा पोर्टेबल ब्रिज तयारी अवस्थामा राखेको छ । निजी क्षेत्रसँगको समन्वयमा हेलिकप्टर, ¥याफ्टिङ र ड्रोन एसोसिएसनसँग पनि सम्झौता गरिएको गृहमन्त्रीले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा न्यूज