सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

नर्सहरूमाथि अन्याय, अनशनमा रहेकी नर्स रानाभाटको स्वास्थ्यमा समस्या

काठमाडौं । सरकार र निजी अस्पतालसँग भएका सहमति कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई चिकित्सकीय निगरानीमा राखिएको छ । १५बुँदे पेसागत माग अघि सार्दै पाँच दिनदेखि अनशनरत रानाभाटलाई वीर अस्पतालमा चिकित्सकहरूको निगरानीमा राखिएको हो । उनको अनशनप्रति नेपाल नर्सिङ संघ, सरकारी तथा निजी अस्पतालमा कार्यरत नर्स र नेपाल चिकित्सक संघले ऐक्यबद्धता जनाएका छन् ।

अनशनमा रहेकी नर्स रानाभाटको माग सम्बोधनमा सरकारले चासो नदेखाएपछि क्रमशः अरू नर्स पनि सडकमा निस्किन थालेका छन् । सोमबार वीर अस्पतालमा कार्यरत नर्सहरूले अस्पतालपरिसरमा बिहान ११ बजेदेखि करिब १ घण्टा धर्ना दिएका थिए । नर्सहरूको श्रमशोषण भएको उनीहरूको गुनासो छ ।

आन्दोलनरत नर्सहरूले स्वास्थ्य क्षेत्रमा उनीहरूको श्रमको निरन्तर शोषण भइरहेको छ र सरकारले यसप्रति गम्भीरता नदेखाएको आरोप छ ।

नर्सका अनुसार अस्पतालमा नर्स (पाँचौँ/छैटौँ तह)को तलब ३४ हजार रुपैयाँ कायम छ । निजीले त १०–१२ हजार मात्र दिने गरेका छन् ।

०८१ र ०८२ मा गरिएको आन्दोलनपछि २४ हजारदेखि २९ हजार तलब–भत्ता प्रस्ताव गरिएको थियो । तर, अधिकांश निजी अस्पतालले कार्यान्वयन गरेका छैनन् ।

अनशनरत रानाभाटले नर्सको सेवा–सुविधा बढाउनुपर्ने, विगतको सम्झौताअनुसार निजी अस्पतालले तलब सुविधा नदिएको, कार्यबोझ थपेकाले पुनर्विचार गर्नुपर्ने, निजीले सरकारीसरह तलब दिनुपर्ने, विगतका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने, पढाइअनुसारको तह हुनुपर्ने, डाक्टर र नर्सको एकै तहको पढाइमा विभेद गर्न नहुने माग राखेकी छिन् ।

स्वास्थ्य मन्त्रालयले आन्दोलनरत नर्सका माग सम्बोधन गर्ने भरपर्दो प्रतिबद्धता नजनाएपछि आइतबार र सोमबार भएका वार्ता पनि असफल भएका छन् । दुवै दिन स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटासहितको टोली अस्पताल पुगेर रानाभाटसँग भेट गरेको थियो । त्यसपछि सचिव डा. देवकोटाकै संयोजकत्वमा मन्त्रालयको र अनशनरत नर्स ज्योतिको तर्फबाट जिता बराल, कल्पना रिजाल, कविता सिटौला, इन्द्रप्रसाद अर्याललगायत वार्तामा बसेका थिए । तर, मन्त्रालयले माग सम्बोधन गर्ने भरपर्दो आधार नदिएपछि आन्दोलनरत नर्सको टोली वार्ताबाट पछाडि हटेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज